अध्यक्ष माधव नेपालसँग सिआइबीले बयान लिइसकेको खुलासा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नेपालसँग बयान लिइएको हो।

प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपालले सिआइबी पुगेर बयान दिएको बताइएको छ। युरोप भ्रमणमा रहेका नेपाल सोमबार बिहानमात्रै स्वदेश फर्किएका थिए।

सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेपछि यो प्रकरणको छानबिन गरिरहेको सिआइबीलाई नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बयान लिन सहज भएको हो। सर्वोच्चको आदेश आएको भोलिपल्टै नेता नेपाल भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।

माधव नेपाल भागेको टिप्पणीहरु हुन थालेपछि उनी बीचमै फर्किएका हुन्। विमानस्थलमा उनले यसबारे गुनासो पनि गरेका थिए। उनी युरोपका विभिन्न देशहरू स्विट्जरल्याण्ड, स्पेन, क्रोएसिया र बेलायतको भ्रमणका लागि साउन २२ गते त्यसतर्फ गएका थिए। प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर उनी भदौ १ गते स्वदेश फर्कने कार्यतालिका थियो। ललितानिवास, सुन प्रकरणलगायत घटनाक्रम विकसित भएपछि नेकपा एसका नेताहरुले अध्यक्ष नेपाललाई भ्रमण छोट्याएर फर्कन सुझाव दिएका थिए।

यो प्रकरणमा जोडिएका अर्का पूर्वप्रम डा. भट्टराईले आफू सिआइबीलाई बयान दिन तयार रहेको सार्वजनिक रुपमै बताइसकेका छन्। सिआइबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै न कुनै किसिमले सहभागी भएकाहरुलाई पक्राउ गरिसकेको छ। नेपाल र भट्टराईलाई भने पक्राउ नगरी बयान लिने सिआइबीको योजना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर