सत्ता गठबन्धन गौर हत्याकाण्डको फाइल बन्द गर्नेतर्फ उन्मुख

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैठकमा तीनवटा विषयमा छलफल भएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ललितानिवास प्रकरणदेखि गौर हत्याकाण्डसम्मको विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार ललितानिवासमा सर्वोच्चको आदेश के हो भन्नेमा छलफल भएको छ ।

“ललितानिवासमा अदालतले दिएको आदेश के हो भन्नेबारे छलफल भयो । कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुगिएको छैन । थप छलफल हुन्छ,” ती नेताले भने । ललितानिवास जग्गा प्रकरणमा सर्वोच्चले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि छानबिन गर्न दिएको आदेशबारे गठबन्धन बैठकमा छलफल भएको हो ।

त्यस्तै, बैठकमा गौर हत्याकाण्डका विषयमा पनि छलफल भएको छ । उक्त फाइल बन्द गर्नुको विकल्प नभएको नेताहरुको निष्कर्ष छ । “गौर हत्याकाण्डका सहिदहरुलाई राज्यले दिने पैसा दिइसकेको छ । मृतकहरुलाई सहिद घोषणा गरिसकेको छ । त्यसलाई क्लोज गर्नुबाहेक विकल्प छैन भन्ने कुरा भएको छ,” ती नेताले सुनाए । गौर हत्याकाण्डका विषय उठान भएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फाइल बन्द गर्न आग्रह गरिसकेका छन् ।

त्यस्तै, बैठकले प्रतिपक्षी नेकपा (एमाले) ले अहिले सीआईबीले गरिरहेको अनुसन्धान प्रभावित पार्न छानबिन आयोगको माग गरिरहेको निष्कर्ष निकालेको छ । एमालेको मागले भइरहेको छानबिन ओझेलमा पर्ने गठबन्धनको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर