ठूलो वर्षाको सम्भावना नरहेतापनि बाढीको जोखिम कायमै

काठमाडौं ।  आज हिजोअस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असर कम हुँदै गएकाले हिजो अस्तिको जस्तो आज अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।  तर, मनसुन सक्रिय रहेकाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उनले बताए । अति ठूलो वर्षाको सम्भावना नरहे पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन मौसमिवद्को आग्रह छ ।

हिजोअस्तिकै पानीले जमिन गलिसकेको र नदीमा पानीको सतह बढिरहेकाले हल्कादेखि मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको हो । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । गएराति  डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुन लगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । त्यसैगरी नारायणी नदीले  सतर्कता तह पार गरेको छ ।  बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर