सीपीएल-२०२३ मा रेड कार्डकाे नयाँ नियम

काठमाडौं ।  फुटबलमा जस्तै क्रिकेटमा पनि ‘रेड कार्ड’ काे प्रयाेग हुने भएकाे छ । वेस्ट इन्डिजकाे क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डकाे नयाँ नियम आउने भएकाे हाे । सीपीएलकाे पुरुष तथा महिला दुवै प्रतियोगितामा ‘रेड कार्ड’ को प्रयोग गरिने छ । यदि कुनै टिमले ताेकिएकाे समयभित्र आफ्नाे काेटाकाे २० ओभर पूरा नगरेमा ‘स्लाे ओभर रेट’ अन्तर्गत याे नियम लागू हुने भएकाे छ । आउँदाे बिहीवारदेखि शुरु हुने प्रतियाेगितामा याे नियम पहिलाे पटक प्रयाेग हुन लागेकाे हाे ।

सीपीएलका प्रतियाेगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ काे नियम लागू गरिएको बताए । सीपीएल आयाेजककाे नियमअनुसार १८ औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि ‘स्लाे ओभर रेट’ देखिएका फिल्डिङ टाेलीकाे एक अतिरिक्त खेलाडीलाई ३० यार्डकाे घेरामा बाेलाइनेछ । यसाे हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् ।

यसैगरी १९ औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि ‘स्लाे ओभर रेट’ देखिएमा फिल्डिङ टाेलीकाे २ अतिरिक्त खेलाडीलाई ३० यार्डकाे घेरामा बाेलाइनेछ । यसाे हुँदा ३० यार्डभित्र ६ जना खेलाडी हुनेछन् । यसैगरी २० औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि ‘स्लाे ओभर रेट’ देखिएमा फिल्डिङ टाेलीकाे १ जना खेलाडीलाई मैदान बाहिर पठाइनेछ । बाहिर काे खेलाडी जाने भन्ने कप्तानले चुन्नेछन् । यस्तै सर्कलभित्र ६ जना खेलाडी रहनेछन् ।

खेल सधैँ फिल्डिङ गर्ने टिमका कारण मात्रै लम्बिँदैन । कहिलेकाहीँ ब्याटिङ गर्ने टिमका कारण पनि खेल लम्बिने गर्छ । यस्ताे अवस्थामा अम्पायरले पहिलाे तथा अन्तिम चेतावनीपछि ब्याटिङ गर्ने टिमले बदमासी गरेकाे पाएमा जरिवाना स्वरूप ५ रन घटाउने छन् । कुनै पनि टी–२० खेलमा एक पारी ८५ मिनेटकाे हुन्छ । नियमअनुसार १७ औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८ औँ ओभर ७६ मिनेट ३० सेकेन्ड, १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्ड र २० औँ ओभर ८५ मिनेटमित्र पूरा हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर