झाडापखालाको उपचार नपाउँदा हुम्लामा दुई बालकको मृत्यु

काठमाडौं । हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधबार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए ।

इमरानलाई जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालकको ज्यान गएको हो । हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण समस्या छ । त्यस्तै, झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई परिवारले घरमै लगेका र पछि ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । कर्णाली प्रदेशको हुम्ला भौगोलिक हिसाबले अति दुर्गम क्षेत्र हो । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको हुम्लाबाट आवतजावत गर्न भरपर्दो विकल्प हवाई मार्ग हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर