सामाजिक सञ्जालमाथि लगाम लगाइँदै, आयो कडा नीति

काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लीलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो ।

‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, अश्लीलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गर्ने उल्लेख छ ।

त्यस्तै, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने, महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरू, विभिन्न प्रकारका हिंसा एवं भेदभावलाई निषेध एवम् नियन्त्रण गर्ने नीतिमा उल्लेख छ ।

यस्तै, सरकारले सरकारको आफ्नै नेटवर्क र नेसनल इन्टरनेट गेटवेको निर्माण गर्ने नीति अवलम्बन गरेको छ । साइबर सुरक्षासम्बन्धी राष्ट्रिय आकस्मिक योजना तयार गरी कार्यान्वयन गर्ने नीतिमा उल्लेख छ । सरकारले साइबर सुरक्षासम्बन्धी विषयलाई विद्यालयस्तर तथा उच्चशिक्षाको पाठ्यक्रममा समावेशसमेत गर्ने नीति पनि लिएको छ ।

साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थासँगको सहकार्यमा साइबर सुरक्षा फिनिसिङ स्कुलको व्यवस्था गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने, साइबर सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा विकासका लागि विश्वविद्यालयहरूलाई प्रोत्साहित गर्ने विषय पनि साइबर सुरक्षा नीतिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर