आगामी ३ दिन भीषण वर्षा हुने पूर्वानुमान, सचेत रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज शुक्रबार मध्याह्न विशेष बुलेटिन प्रकाशित गरेर भोलि शनिबारदेखि सोमबारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ ।

महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतबार पनि देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुनेछ । सोमबार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमबार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।

विभागले भोलिदेखि सोमबारसम्म पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको, शहरी क्षेत्रमा डुबान हुनसक्ने तथा देशका साना–ठूला नदीको सतह बढ्ने अनुमान गरेको छ । विभागले सडक र हवाई यातायात अवरुद्ध हुनसक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर