भक्तपुरबाट १५ लाखबराबरका नक्कली नोट र मेशिन बरामद

काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट हिजो बिहीबार बेलुका ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँबराबरको नक्कली नोट बरामद गरेको हो ।

प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भइ अहिले चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए ।

प्रहरीका अनुसार सुवेदीको डेरामै नक्कली नोट छाप्ने गरेको पाइएको छ। प्रहरीले कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भइ अहिले काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भइ काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ।

यसैगरी नवलपरासीको सरावल गाउँपालिका–१ घर भइ अहिले काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भइ अहिले काठमाडौको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भइ अहिले काठमाण्डौको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भइ अहिले काठमाडौंको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर