गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्दत भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले संसद् अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिने कुरामा कसैको हानी नहुने बताए । उनले राजस्व अनुसन्धान र सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने दाबी गरे । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने सांसद शर्माले जिकिर गरे । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रका सांसदहरू नै नमानेको र ढिलो–चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

उनले भने, ‘यत्रो सुन काण्ड भएको छ । गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद् अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुपर्‍यो नि । दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने । तर अहिले माओवादीका साथीहरू मानिरहनुभएको छैन । उहाँहरूले ढिलो–चाँडो मान्नुपर्छ । यो पक्ष–विपक्षको होइन, देशका नागरिकको कुरा हो । सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि ।’ सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने धारण व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर