नेपाललाई भारतमा बिजुली बेच्न सजिलो हुने

काठमाडौं । भारतले नेपालको विद्युत्लाई भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि सुविधा उपलब्ध गराएको छ । भारतको विद्युत् मन्त्रालयले सीमापार विद्युत् आयात निर्यात कार्यविधि संशोधन गर्दै विद्युत् व्यापार सम्झौता गरेका छिमेकी मुलुकको विद्युत् रियल टाइम मार्केटमा बिक्री गर्न पाउने सुविधा थप गरेको हो ।

नेपाललाई यसअघि इन्डियन इनर्जी एक्सचेन्जको एक दिनअघि बिडिङ गरी बिजुली बेच्ने (डे अहेड मार्केट) को मात्रै सुविधा दिएकोमा अब आधा घण्टाअघि मात्रै प्रतिस्पर्धा गरेर भारतमा विद्युत् निर्यात गर्न सकिने भएको छ ।

यसले अनपेक्षित बर्सातका कारण विद्युत् उत्पादन तत्काल बढ्ने वा स्वदेशभित्र तत्काल अनपेक्षित माग घटेका बेला आधा घण्टाअघिकै पूर्वानुमान अनुसार विद्युत् निर्यात गर्ने वा आयातसमेत गरेर विद्युत् प्रणालीलाई सहज बनाउन सकिने भएको छ ।

भारतले रियल टाइम मार्केट खुला गरे पनि विद्युत् आयात गर्ने अनुमतिको परिणाम भने अझै थपेको छैन । हाल नेपालका विभिन्न आयोजनाको ४५२ मेगावाट विद्युत्लाई सूचीकृत गराएको छ । एक वर्षपहिले विभिन्न १० आयोजनाको विद्युत् बिक्री अनुमतिका लागि प्रस्ताव गरे पनि हालसम्म स्वीकृत गरेको छैन । भारतले स्वच्छ हरित ऊर्जा खरिदका लागि समेत आनाकानी गरिरहेकाले नेपालले क्षमता अनुसार विद्युत् बिक्री गर्न सकिरहेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर