सम्पर्कबाहिर पुगेको भ्वायजर-टूसँग पुनः सम्पर्क
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर-टूसँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुटेको थियो ।
नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भ्वायजर टू सम्पर्कमा आएको बीबीसीले जनाएको छ । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग गरेको हो ।
पृथ्वीबाट १२ अर्ब माइल टाढा रहेको भ्वायजर टू मा पृथ्वीबाट पठाएको सन्देश पुग्न १८ घण्टा र त्यहाँबाट पृथ्वीमा सन्देश आइपुग्न पनि १८ घण्टा नै लाग्छ । सन् १९७७ मा प्रक्षेपण गरिएको भ्वायजर टू ले वृहस्पति र शनिसहित चन्द्रमाहरुको अनुसन्धानका लागि महत्त्वपूर्ण सन्देशहरु पठाइरहेको थियो ।
भ्वाएजर वान र भ्वायजर टू एकै वर्ष अन्तरिक्षमा पठाइएका थिए । यी दुवै अन्तरिक्षबाट सबैभन्दा टाढा रहेका अन्तरिक्ष यान हुन् । भ्वायजर टू ले केही समयदेखि सूर्यबाट बाहिर निस्कने अत्यधिक ऊर्जावान आयनहरू मिलेर बनेको इन्टर स्टेलर स्पेसको अन्वेषण गरिरहेको छ ।