एलेक्स हल्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं । इङ्ल्याण्डका ओपनर ब्याट्सम्यान एलेक्स हल्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

पछिल्लो टी- ट्वान्टी विश्वकप विजेता टिमका खेलाडी हल्सले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सन्यास लिएको बताए ।

मैले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने फैसला गरेको छु । तीनै वटा ढाचामा गरि १ सय ५६ खेलमा देशको प्रतिनिधित्व गर्ने सौभाग्य प्राप्त गरे । मैले केही सम्झौता र मित्रता जिवनभरका लागि बनाईसकेको छु । मलाई लाग्छ, अब अघि बढ्ने समय आएको छ । उनले भनेका छन् ।

एलेक्स हल्सले अष्ट्रेलियामा भएको टी ट्वान्टी विश्वकप २०२२ मा शानदार प्रर्दशन गरेका थिए । उनले इङ्ल्याण्डका लागि ११ टेष्ट, ७० वान डे र ७५ टी ट्वान्टीमा प्रतिस्पर्धा गरेका थिए । उनले टेष्टमा २७ दशमलव २८ को औसतमा ५ सय ७३ रन बनाए । जसमा ५ अर्धशतक थिए ।

वान डेमा उनले ३७ दशमलव ७९ को औसतमा २ हजार ४ सय १९ रन बनाए । वान डेमा उनको ६ शतक र १४ अर्धशतक रहेको छ । टी ट्वान्टीमा उनले ३० दशमलव ९५ को औसतमा उनले २ हजार ७४ रन बनाए । जसमा एक शतक र १२ अर्धशतक समावेश छन् ।

सन् २०१९ मा उनलाई विश्वकपमा समेत समावेश गरिएको थियो । तर मनोरञ्जनका लागि ड्रग्स लिने कार्यमा दोषी भेटिएपछि उनलाई टिमबाट बाहिर राखिएको थियो । त्यसपछि उनले तीन वर्ष राष्ट्रिय टिममा फर्कनै पाएनन् । पछिल्लो वर्ष पाकिस्तानविरुद्धको सिरिजमा उनी इङ्ल्याण्डको टिममा फर्किएका थिए ।

अब वान डे विश्वकप २०२३ अघिनै हल्सले सन्यासको घोषणा गरेका छन् । हल्सको पछिल्लो निर्णयले इङ्ल्याण्डलाई समस्यामा पारेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर