“प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो होइन”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले भने, ‘‘अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिविम्बले सिङ्गो देशको कार्यप्रगति र सरकारको प्रतिविम्ब झल्किन्छ । त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ ।’’ प्रधानमन्त्रीले ‘हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुको मूल कारण पत्ता नलगाई तदर्थवादी ढङ्गले हामीले लक्ष्य हासिल गर्न नसकिने’ पनि बताए ।

प्रधानमन्त्रीले भने, “हामीले आ–आफ्ना निकायको वार्षिक लक्ष्य निर्धारण पनि गर्छौं । लक्ष्य पूरा गर्नका लागि क्रियाकलापहरूको संयोजन गरी सूचकांक र कार्ययोजना बनाउँछौँ र कार्यसम्पादन पनि गरिरहेका छौँ । तर हामीले निर्धारण गरेका लक्ष्यअनुसारका योजनाहरूलाई किन समयमै सम्पादन गर्न सक्दैनौँ ? यो विषयमा गम्भीरतापूर्वक सोच्न जरुरी छ । हामीले योजना तय गर्दा वस्तुसम्मत ढङ्गले योजना तर्जुमा गर्दैनौँ वा योजना निर्माण गर्ने प्रणालीमै खरावी हो ? या हामीले दण्ड र पुरस्कार प्रणालीलाई कार्यान्वयन नगर्दा समस्या आएको हो ? हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुको मूल कारण पत्ता नलगाई तदर्थवादी ढङ्गले हामीले लक्ष्य हासिल गर्न सक्दैनौँ । यो विषयमा यहाँहरूले गम्भीरतापूर्वक मनन गरेर नीतिगत वा संरचनागत वा व्यवहारगत कहाँ के चुनौती हुन समाधानतर्फ केन्द्रित हुनुहोस् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर