सुन तस्करी प्रकरणमा सीआईबीपनि संलग्न गर्ने सरकारको निर्णय

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान अब दुई कोणबाट हुने भएको छ । एउटा कोणमा राजस्व अनुसन्धान विभागले तस्करी र राजस्व छलीको छानविन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्को कोणबाट संगठित अपराधका सम्बन्धमा गहन अनुसन्धान गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय बैठकपछि सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीलाई पनि संलग्न गाराउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको बताइएको छ ।

बैठकमा सहभागी प्रहरी महानिरीक्षक वसन्त कुँवरका अनुसार सुन तस्करी प्रकरणमा अहिलेसम्म राजस्वले जेजति अनुसन्धान गरेको छ, त्यसको सबै फाइल सीआईबीलाई बुझाएर छानबिन अघि बढाउने निर्णय भएको छ। कुँवरका अनुसार अब सीआईबीको नेतृत्वमा राजस्व अनुसन्धान विभागसँग पनि समन्वय गरेर अनुसन्धान हुने भएको छ।

सिंहदरबारको उक्त बैठकले अनुसन्धानको सबै फाइल पनि सीआईबीले तयार गर्ने निर्णय लिएको छ। उक्त प्रकरणमा अब राजस्वसँग भएका र प्रहरीसँग भएका सूचनाहरु एकै ठाउँमा ल्याएर विश्लेषण गर्ने बताइएको छ। ‘यो प्रकरणमा संगठित अपराध र राजस्व छलीका दुईवटा फाइल एकसाथ तयार गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी अर्का अधिकारीले भने, ‘राजस्व छलीमा राजस्व अनुसन्धान विभागले मुद्दा चलाउने छ। संगठित अपराधमा सीआईबीले मुद्दा चलाउने छ।’
यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन लामो अनुसन्धान गरेको छ। यसबीचमा नेपालीसहित सुन तस्करीमा मुछिएका चिनियाँ नागरिकसमेत पक्राउ परेका छन्। विभागले बालुवाटार , सोह्रखुट्टे, टोखा र ठमेलसहित विभिन्न स्थानमा छापा मारेर सुन गाल्ने मेशिनदेखि अन्य कयौँ उपकरण पनि बरादम गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर