माओवादी बैठक : नवयुवराज, युवराज्ञी र जर्नेल प्रवृत्ति भएकोे कटाक्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि प्रश्नको वर्षा भएको छ । बैठकको दोस्रो दिन बिहीबार बोल्ने कतिपय केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप समेत लगाए । जसका कारण माओवादी केन्द्रमा गुटगत क्रियाकलाप बढ्दै गएकोमा नेताहरूले चिन्ता समेत व्यक्त गरे । साथै केही नेताले पार्टीमा जर्नेल र युवराज युवराज्ञी प्रवृत्ति बढेको भन्दै कटाक्ष गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डको संक्षिप्त प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जगत् सिम्खडाले पार्टी गुटैगुटमा विभाजित रहेको भन्दै आक्रोश व्यक्त गरे । ‘हाम्रो पार्टी अहिले गुटैगुटमा विभाजित छ । अध्यक्ष प्रचण्ड सङ्गठनमा असफल बन्नुभयो । पदाधिकारी हाँसोको पात्र बनेका छन्’, सिम्खडाको भनाइ छ । अर्का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले पार्टी कमजोर हुनु र बिग्रनुमा मुख्य नेता जिम्मेवार रहेको धारणा राखे ।

प्रचण्ड रहेमात्रै पार्टी चल्ने भन्दै उनले नत्र पार्टी संकटमा फस्ने दाबी समेत गरे । उनले भने,‘पदाधिकारीहरूले आत्मालोचना गर्नुपर्छ ।’ उनले पार्टीलाई विचौलियबाट बचाउन पहल गर्नुपर्नेमा जोड समेत दिए । अर्का केन्द्रीय सदस्य दुर्गा विकले भ्रष्टाचारका फाइल खोल्दा पार्टीका नेता नै परे पनि छोड्न नहुनेमा जोड दिइन् । यसैगरी प्रह्लाद बुढाथोकीले आशा र निराशाको दोधारमा पार्टी रहेको धारणा राखे ।

उनले भने, ‘पार्टी लथालिङ्ग छ । प्रस्तावित तीन महिने अभियान पनि असफल हुन्छ ।’ पार्टी कमिटी ठुलो सङ्ख्याको बनाउने प्रस्तावप्रति उनको विरोध थियो । उनले भने, ‘कमिटी ठुलो बनाउने काम गरिए त्यो गल्ती हुन्छ ।’ यसैगरी अर्का केन्द्रीय सदस्य गगन पुरीले पार्टीको ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा जाँदै नगएको बताए । सोही क्षेत्रमा ठुलो भ्रष्टाचार भइरहेको भन्दै उनले त्यो भ्रष्टाचार नियन्त्रणमा पार्टीकातर्फबाट ध्यान जान जरुरी रहेको बताए ।

अर्का केन्द्रीय सदस्य नीलकण्ठ तिवारीले पार्टीमा ‘नाति जर्नेल’ र नवयुवराज र युवराज्ञी प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले भने,‘परिवर्तनलाई व्यवस्थित गर्न सकिएन । पारिवारको क्लब बनाउन पार्टी लागेको हो ? नाति जर्नेल प्रवृत्ति र नवयुवराज नवयुवराज्ञी प्रवृत्तिले कसरी पार्टी बन्छ ?’

दोस्रो दिनको बैठकमा विष्णुप्रसाद भट्ट, लक्ष्मी पुन, भीमकुमार बुढामगर, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दिलीप साह, हरिराज अधिकारी, माधव सापकोटा, शिवराम यादव, केशवराज योगी, दिलीप प्रजापति, हितबहादुर तामाङ, लेखनाथ न्यौपाने, विमल अधिकारी,वीरबहादुर राउत, दलजीत श्रीपाली, रणेन्द्र बराइली, दुर्गा विक, प्रकाश श्रेष्ठ, विमला सुवेदी, कृष्णबहादुर महरा र कालीबहादुर मल्ललगायतले धारणा राखेको उपाध्यक्ष समेत रहेका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पहिलो दिनको बैठकमा भने १८ जनाले बोलेका थिए । तेस्रो दिनको बैठक शुक्रवार बिहान ११ बजे बस्ने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर