सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने शेखर कोइरालाको गम्भीर शंका

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको हुनसक्ने गम्भीर शंका व्यक्त गरेका छन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताए । सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराइनाले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको प्रस्ट पारे ।

उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगरार्इ राजश्व अनुसन्धान विभागलाई मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए।उनले भुटानी शरणार्थी र ललितानिवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताए। नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए।

उनले भने, ‘भ्रष्टाचारले देश गाँजेको छ। अर्को भनेको दण्डहीनता बढिरहेको छ। मान्छे मार्नुहुन्छ, राजनीतिक लेपमा छुट्नुहुन्छ। सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतले निर्णय गरिसकेको हुन्छ। यस्ता कुरलाई हामीले ठीक राख्न सकेनौँ भने देश अराजकतातिर जान्छ। अहिले गइरहेको छ। भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ। एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ। भुटानी शरणार्थीपछि ललितानिवास जग्गा प्रकरण आयो, भुटानी शरणार्थी प्रकरण रोकियो। झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ। सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्ब हुन्छ। राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अन्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्डभन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो। के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ।’

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताए। कुनै घटना आउनेबित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गरे। उनले भने, “अर्कोतिर संसद चलिरहेको छ, विपक्षी पार्टी एमाले संसद अवरुद्ध गरेर बसिरहेको छ। संसदमा जति बोल्नु नि। बोलेर त्यसमा प्रतिपक्षले पनि बोल्नु सुन काण्डकै त इस्यु होला। आफ्ना कुरा राख्नु नयाँ कुरा भए एक्सपोज गर्नु। सत्ता पक्षका साथीहरु पनि बोल्लान्। पक्ष विपक्ष त स्वाभाविक हो नि। संसदलाई अवरुद्ध गर्दा राष्ट्रलाई कति क्षति भइरहेको छ, यो कुरा विपक्षी दल नेपाली काँग्रेसले पनि बुझ्न जरुरी छ।”

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको स्पष्टीकरण दिए। उनले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरुमा आफूले असहमति राखिरहेको स्पष्ट पारे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर