ट्रम्पविद्ध निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा ४ अभियोग
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ ।
४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पुर्याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।
यी अभियोग सुनाउन वासिङ्टन डिसी अदालले ट्रम्पलाई बिहीबार अदालतमा हाजिर हुन भनेको छ । ट्रम्प जिल्ला न्यायाधीश तान्या चुटकन समक्ष हाजिर हुनु पर्नेछ । पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका न्यायाधिश चुटकन अमेरिकी संसद भवनमा गरिएको आक्रमणमा मुछिएकाहरु माथि कडा रुपले प्रस्तुत हुने न्यायाधिशको रुपमा चिनिन्छन् ।
ट्रम्पमाथि आपराधिक अभियोग लगाईएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातहरुको दुरुपयोग एवं व्यापार गठीको आरोपमा मुद्द चलिरहेको छ । आफ्नो बढ्दो कानूनी समस्याहरूको बावजुद राष्ट्रपति निर्वाचनको उम्मेदवारी दौडमा भने ट्रम्प अरुभन्दा अगाडि छन् ।
न्यूयोर्क टाइम्स र सिएनएन सर्वेक्षणले ट्रम्पलाई ५४ प्रतिशत समर्थनका साथ रिपब्लिकन उम्मेदवारीको दौडमा सबैभन्दा अगाडि देखाएको छ । अमेरिकी कानूनले अपराधको आरोप लागेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक्दैन । एजेन्सी