कोशी सरकार गठन गर्न आज अन्तिम कसरत

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि राप्रपाले गठबन्धनलाई नसघाउने भएपछि सभामुख बाबुराम गौतमको राजीनामा गराउने तयारी गरिँदैछ ।
राप्रपाले तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि सभामुख गौतमको राजीनामा गराउने विषयमा छलफल चलिरहेको एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका प्रदेशसभा सदस्य राजेन्द्र राईले बताए । गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।
दाबी पेश गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा आज मंगलवार सकिँदैछ । उनले १६ गते बेलुका ५ बजेसम्मको समय दिएका थिए । नेपाली कांग्रेसले उद्धव थापाकै नेतृत्वमा सरकारको दाबी हुने बताएको छ । गठबन्धनका केन्द्रीय नेताहरूले आज मंगलबार मुख्यमन्त्री टुंगो लगाउने राईले बताए ।
प्रतिक्रिया