जापानले स्पेनमाथि ४–० को जित निकाल्दै नकआउटमा स्थान बनायो

काठमाडौं । फिफा महिला विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा जापानले स्पेनमाथि ४–० को रवाफिलो जित निकाल्दै समूह ‘सी’को विजेताका रुपमा नकआउटमा स्थान बनाएको छ।

अब क्वाटरफाइनल प्रवेशका लागि जापानले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। स्पेन २०१२ मा जर्मनीसँग ५–० को हार व्यहोरेयताको सर्वाधिक फराकिलो हार भोग्न बाध्य भयो। हारका बाबजुत यसअघि नै नकआउट पुगेको स्पेन समूहको उपविजेता बन्यो।

२०११ को विश्व च्याम्पियन जापानले स्पेनविरुद्ध पहिलो हाफमा नै ३ गोलको अग्रता बनाएको थियो। जापानलाई फराकिलो जिततर्फ पुर्‍याउनका लागि हिनता मियाजावाले २ गोल गरिन्। २ गोलसँगै मियाजावा प्रतियोगितामा ४ गोल गर्दै अहिलेसम्मकी सर्वाधिक गोलकर्तासमेत बनिन्।

यसअघि उनले आफ्नो पहिलो खेलमा जाम्बियाविरुद्ध पनि ३–० को जित निकाल्दा २ गोल गरेकी थिइन्। मियाजावाले १२ र ४० औँ मिनेटमा गोल गर्दा अर्को एक गोल रिको उकले ३९ औँ मिनेटमा गरेकी थिइन्।

दोस्रो हाफमा सम्हालिने प्रयास गरेको स्पेनविरुद्ध सब्सटिच्यूट मिना टनकाले ८३ औं मिनेटमा चौंथो गोल गरेकी थिइन्। अब जापानले क्वाटरफाइनल प्रवेशका लागि १९९५ को विश्वविजेता नर्वेविरुद्ध वेलिङ्डनमा प्रतिस्पर्धा गर्नेछ।

नर्वे समूह ‘ए’को उपविजेताका रुपमा नकआउटमा स्थान बनाएको थियो। उपविजेता बनेको स्पेनले अकल्यान्डमा समूह ‘ए’को विजेता स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूहमा नै भएको अर्को खेलमा प्रतियोगिताबाट बाहिरिएको जाम्बियाले कोस्टारिकालाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्‍यो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर