नारायणगढ–मुग्लिन र बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज आइतबार बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेकाले सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्रमा परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए । पहिरोका कारण यस सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ । यसैबीच वर्षाले गर्दा शुक्रबारर बेलुकादेखिको आएको पहिरोका कारण बेनी जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङ क्षेत्रमा शनिबार परेको वर्षाले गर्दा घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबार देखि अवरुद्ध भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार थासाङ गाउँपालिकाको लेते खोलामा सडक अवरुद्ध भएको छ । लेते खोलामै घोडाघोडी यातायातको गाडी शनिवार राति फसेको थियो । बा४ख ८७७२ नम्बरको गाडी लेते खोलाको पानीमा शनिबार बेलुकादेखि फसेको र आइतबार बिहान १० बजे गाडी बाहिर ल्याइएको थियो । थासाङ गाउँपालिकाकै कैकु खेलामा रहेको डाइभर्सन बाढीले बगाएको छ । बाढीले डाइभर्सन बगाउँदा घाँसा–जोमसोम सडक खण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।

त्यस्तै बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक आयोजना अन्तरगतको रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेको कारणले गर्दा सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकहरूलाई समस्या भएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सडक मर्मत गरेर सञ्चालनको प्रयास गरिएको भए पनि लेदोसहितको पहिरो झर्न नरोकिएकोले जोखिम भएको बताए । रघुगङ्गा गाउँपालिकाको वडा नं। १ र २ को सिमाना बाट झरेको पहिरोले रघुगङ्गा –३ बैशरीमा अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन पनि जोखिम भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक भने सुचारु अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर