दीपेन्द्रसिंह आबद्ध मोन्ट्रियल टाईगर्स ग्लोबल टी-ट्वान्टी क्यानडामा पराजित

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आबद्ध मोन्ट्रियल टाईगर्स ग्लोबल टी-ट्वान्टी क्यानडामा पराजित भएको छ ।

चौथो खेलमा आफ्नो अपराजित यात्रा गुमाएको टाईगर्स ब्रैम्प्टन वुल्भ्ससँग १५ रनले पराजित भएको छ ।

वुल्भ्सले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको टाइगर्स १९ दशमलब १ ओभरमा १ सय २८ रनमा अलआउट हुन पुग्यो ।

टाईगर्सका लागि दीपेन्द्रसिंह ऐरीले २४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाए । दीपेन्द्र नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकको बलमा क्रिस ग्रिनबाट क्याच आउट भए ।

त्यस्तै सकिब अल हसनले २१ बलमा ४ चौका र १ छक्कासहित २८ र दीलप्रित सिंहले २४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ब्रैम्प्टनका लोगन भान बीकले ३ तथा कोलिन डि ग्रान्डहोम र शाहिद अहमाड्जाईले समान २/२ विकेट लिए । टिम साउथी र क्रिस ग्रीनले समान १/१ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाएको वुल्भ्सले १९ दशमलब ५ ओभरमा १ सय ४३ रनमा अलआउट भयो।

ब्रैम्प्टनका लागि कोलिन डि ग्रान्डहोमले ४० बलमा ७ चौका र १ छक्कासहित ५६ रनको अर्धशतक बनाए ।

टाइगर्सका कार्लोस ब्रेथवेटले र आयन खानले समान ४/४ विकेट लिए । दीपेन्द्रले २ ओभरमा २० रन खर्चिए ।

आठौं ओभरमा दीपेन्द्रले न्युजिल्यान्डका दुई खेलाडी मार्क च्यापम्यान र कोलिन डि ग्रान्डहोमलाई मात्रै चार रन मात्र दिएका थिए ।

तर, १० औं ओभरमा दीपेन्द्रले १६ रन खर्चिन पुगेका थिए । दीपेन्द्रलाई पहिलो बलमा च्यापम्यान र तेस्रो बलमा ग्रान्डहोमले चौका हानेका थिए ।

चौथो बलमा ग्रान्डहोमले छक्का हानेपछि महँगो ओभर हुन पुगेको थियो । त्यसपछि उनले बलिङको अवसर पाएनन् ।

जितसँगै ब्रैम्प्टन वुल्भ्सले ४ खेलमा ७ अंक बनाएको छ । अंक तालिकामा ब्रैम्प्टन शीर्ष स्थानमा रहेको छ ।

चौथो खेलमा पहिलो पटक पराजित टाईगर्स भने ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर