बालकृष्ण खाँणबारे मौन बस्दै कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ । गत साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको साउन १० गतको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको सभापति शेरबहादुर देउवाले जवाफ दिए । उनले आफ्नो धेरै आलोचना होला भन्ने लागेको तर आलोचना कम भएको भन्दै धन्यवाद व्यक्त गरे । सभापति देउवाले बैठकमा जीवन्त छलफल भएको र पार्टीमा योग्य नेताहरू छन् भन्ने कुरा सबैले बुझुन् भनेर बैठक गतिविधिको प्रत्यक्ष प्रसारण गरेको बताए ।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकले गरेका निर्णय पनि प्रस्तुत गरेका थिए । कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक आयोजना गर्ने भएको छ । महामन्त्री शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक आयोजना गर्ने प्रस्ताव गरेका हुन् । गत मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।

यसैगरी बैठकले विभिन्न चुनावमा वागी उम्मेदवार बनेर जितेका १२ जनाको कारबाही फुकुवा गरेको छ। यसैबीच कांग्रेसले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा कम वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।

यस्तै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै कांग्रेसले जोकोहीले भ्रष्टाचार गरेको भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने जनाएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्नेसमेत कांग्रेसले बताएको छ ।

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको छ । बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेता पनि त्यस मतले निर्यायक मोड लिन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर