किसानलाई राहत : बाँदरले अन्नबालीमा नोक्सान पुर्‍याएमा क्षतिपूर्ति पाइने

काठमाडौं । सरकारले बाँदरले अन्नबालीमा क्षति पुर्‍याएमा किसानलाई राहत दिने भएको छ । यसअघि अरू विभिन्न वन्यजन्तुबाट भएका नोक्सानमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरले गर्ने क्षतिमा पनि राहत दिन लागेको हो ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा बाँदरबाट हुने नोक्सानमा पनि क्षतिपूर्ति दिने उल्लेख छ । सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसेचितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्यो ।

नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको हो । किसानबाट आइरहेको गुनासो र सर्वोच्च अदालतको आदेश समेतलाई ध्यान दिएर बाँदरबाट हुने नोक्सानमा पनि क्षतिपूर्ति दिने व्यवस्था सुरु गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता अजय कार्कीले जानकारी दिए । अब बाँदरबाट खेतीबालीमा भएको क्षतिमा किसानले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् ।

भण्डारण गरेको अन्नमा भएको क्षतिमा भने क्षतिपूर्ति पाइँदैन । यस्तै, बाँदरले व्यक्तिलाई घाइते बनाएमा अरू जनावरबाट भएको आक्रमणमा जस्तै उपचारका लागि दुई लाख रुपैयाँसम्म र ज्यान गएमा १० लाख रुपैयाँ राहत रकम दिने निर्देशिकामा उल्लेख छ ।

नेपालको मध्यपहाडका धेरै ठाउँमा बाँदरका कारण मानिसहरु हैरान बनेका छन् । पीडित किसानले क्षतिपूर्ति तथा राहतका लागि सम्बन्धित पालिकाबाट प्रक्रिया पूरा गरी वन कार्यालयहरूमा निवेदन दिनुपर्छ । किसानले निवेदन दिएको एक महिनाभित्र प्रक्रिया पूरा गरी राहत दिइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर