दाङको देउखुरीमा एक दर्जन बढी घर डुबानमा

काठमाडौं । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् ।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेका दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेका उनले बताए ।

सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उहाँको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उहाँको परिवार छतमा बसेको र उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय ४० वर्षीय सुशील कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसेपछि उनीहरूको परिवार सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि यहाँ १० जनाको प्रहरी टोली खटिएको छ ।

यस्तै दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको एउटा जिप खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको जिप बगाएको हो । दाङमा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ । (तस्बिर : सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर