धरानमा डेंगुबाट ४ जनाको मृत्यु, अस्पतालमा छुट्टै वार्ड सञ्चालन
काठमाडौं । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन गरिएको छ । धरानलगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लामा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज रूपमा उपचार गराउन बीपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको बीपी प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले बताए ।
उनका अनुसार असार २९ गतेदेखि साउन ७ गतेसम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको छ । बीपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा उक्त रोग देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगुको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिशतसम्म सङ्क्रमण देखिएको छ ।
प्रतिष्ठानको इमर्जेन्सीमा वा ओपीडीमा उपचारका लागि आएका डेंगुका बिरामीहरूमध्ये सिकिस्त बिरामीहरूलाई आईसीयु,, इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिएको भने त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने बीपी प्रतिष्ठानका सह प्रवक्ता डा. पोखरेलले बताए । नगरप्रमुख हर्क साम्पाङले धरान उपमहानगरपालिकामा डेंगु प्रकोप रोकथामका लागि सबै वडामा अभियान सुरु गरिएको जानकारी दिए ।