कम्बोडियामा प्रतिपक्षविनानै आमचुनाव सम्पन्न

काठमाडौं ।  कम्बोडियामा विश्वसनीय प्रतिपक्षविनानै आमचुनाव भएको छ । त्यहाँको राष्ट्रिय सभाका लागि १ सय २५ जना सांसद चयन गर्न हरेक पाँच वर्षमा चुनाव हुनेगर्छ । यो चुनावमा सत्ताधारी दलविरुद्ध विश्वसनीय प्रतिपक्ष प्रतिस्पर्धामा थिएन ।

सत्तारुढबाहेक अन्य १७ वटा दल सहभागी भए पनि ती सबै साना र नयाँ वा सत्तारूढ दलसँग गठबन्धन गरेका पार्टी हुन् । वर्तमान प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले हिजो भएको चुनावमा सहज जित हासिल गरेको दाबी समेत गरेको छ ।

सीपीपीका प्रवक्ता सोक आइसानले मतपरिणाम आफूहरुको पक्षमा रहेको बताउनुभयो । गएको मे महिनामा एक मात्र प्रतिपक्षी दल क्यान्डललाइटलाई सेन नेतृत्वको सरकारले चुनावमा भाग लिन अयोग्य घोषित गरेको थियो ।

आलोचकहरूले यो चुनावलाई ‘देखावटी’ भनेर टिप्पणी गरेका छन् । अमेरिकालगायत पश्चिम देशहरुले पनि मतदानको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका छन् । मतपरिणामको आधिकारिक नतिजा घोषणा हुन बाँकी नै छ ।

राष्ट्रिय निर्वाचन समितिले देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ तारिखमा सार्वजनिक गर्ने जनाएको छ । यसअघि सन् २०१८ मा भएको चुनावमा पनि सीपीपीले राष्ट्रिय सभाका सबै १ सय २५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि कम्बोडियामा शासन गर्दै आएको छ । यसै वर्षको सुरुमा प्रमुख प्रतिपक्षी नेता केम सोखालाई देशद्रोहको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर