नेपालमा मोबाइल फोन एसम्बल गरेमा उपभोक्ताले सस्तोमा मोबाइल पाउनेछन् : अध्यक्ष दिनेश चुल्याद्यो (भिडियोसहित)

नेपालीमाझ मोबाइल उपकरणको प्रयोग र पहुँच सजिलो र सहज भए सूचना र सञ्चार क्षेत्रले अझै फड्को मार्ने कुरामा कुनै दुईमत छैन । सूचना, प्रविधि मानव जीवनको अभिन्न अंग बनिरहेका बेला मोबाइल उपकरण नेपालीको दुनियाँबाट पर रहने कुरै भएन । नेपालमा मोबाइल उपकरणकै कारण सूचना, प्रविधिको क्षेत्रमा मात्र नभएर हरेक मानिसको आम जीवनमा सहज अवस्था आएको छ । नेपाल मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याद्योसँग नेपालमा मोबाइलको उपयोग र मोबाइल उपकरणको मागका साथै पछिल्लो समयमा आर्थिक मन्दीका कारण व्यवसायमा परेको प्रभावलगायतका विषयमा केन्द्रित भएर रफतन्युजडटकमका प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेपः–

कस्तो छ नेपालमा मोबाइल उपकरणको माग ?

दिनेश : मोबाइल फोनको माग विगतमा भन्दा कम देखिएको छ । २०७८–७९ भन्दा ०७९–८० मा झन्डै २० प्रतिशत माग कम भएको छ । सम्भावनालाई हेर्ने हो भने नेपालमा मोबाइलको माग अधिक रहेको छ ।

कस्ता खालका मोबाइल सेट विशेषतः नेपाली उपभोक्ताको रूचिमा पर्ने गरेको पाउनु भएको छ ?

दिनेश :  नेपालको मोबाइल बजारलाई हेर्ने हो भने विशेषगरी १५ हजारदेखि ३० हजार रुपैयाँसम्मको मोबाइल सेट रोजाइमा परेको देखिन्छ । समयको मागअनुसार मोबाइलको फिचर एप्लिकेसनलाई सपोर्ट गर्ने खालका मोबाइलको माग अधिक रहेको छ ।

मोबाइल व्यवसायीहरूप्रति सरकारको नीति कस्तो रहेको पाउनु भएको छ ?

दिनेश : नेपाली मोबाइल व्यवसायीप्रति सरकारी नीति खासै उदार देखिँदैन । विगतका समयमा नेपाली मोबाइल बजारलाई केही हौसला प्रदान र व्यवसाय प्रवर्धन गर्ने खालको नीति ल्याएता पनि हाल मोबाइलमा लगाएको भ्याट र अन्तःशुल्क कै कारण व्यवसायीहरू अधिक मारमा परेको देखिन्छ । सरकारले यसरी लगाएको कर प्रणालीको मारमा प्रत्यक्ष रूपमा नेपाली मोबाइल बजार परेको देखिन्छ । यसलाई सरकाले दिएको सुविधा भनौँ कि द्विविधा आफैँ बुझौँ ।

सरकारले कस्तो खालको वातावरण बनाइदिए नेपालमा मोबाइल सेट व्यवसाय फस्टाउने थियो ?

दिनेश : मैलै यसअघिको प्रश्नमा पनि यसको आंशिक उत्तर दिए जस्तो लाग्छ । नेपालमा मोबाइल बिक्री बजारको भविष्य राम्रो छ । यसको अध्ययन गरेर सकारात्मक वातावरण बनाउन सके सबैलाई लाभ मिल्नेछ। सरकारले मोबाइल सेटमा लगाएको भ्याट र अन्तःशुल्कमा हेरेफेर गरिदिए मात्र पनि नेपाली मोबाइल बजार फस्टाउने थियो । सरकाले भ्याट लिएता पनि हाल लगाएको अन्तःशुल्क नलिने हो भने विदेशबाट फर्केर आउँदा ल्याइने मोबाइल प्रायः ठप्प हुने थियो ।

आर्थिक मन्दीमा मोबाइल व्यवसायमा कस्तो असर देखिएको छ ?

दिनेश : आर्थिक मन्दीको असरले देशलाई नै गाँजेको बेला यो क्षेत्र पनि अछुतो रहने अवस्था रहेन । तर पनि आर्थिक मन्दीमा व्यापार घटेर परेको असरभन्दा पनि बैंकको ब्याजदर वृद्धिका साथै बढेको उपभोग्य वस्तुको महँगीले बढी असर पारेको छ । आशा छ, सरकारले यो अवस्थालाई लामो समयसम्म नराख्ने वातावरण सिर्जना गर्नेछ ।

एमडिएमएस भनेको के हो ? नेपालमा एमडिएमएस प्रणालीको लागू गरेपछि कस्तो अवस्था आएको छ ?

दिनेश : एमडएिमएस सिस्टम नेपालका लागि राम्रो छ । नेपाल दूरसञ्चार प्राधिकरणमा नेपाल भित्रिएका हरेका मोबाइल सेटको रजिष्टेसन गरिने एक खालको प्रणाली नै एमडिएमएस प्रणाली भनिन्छ । एमडिएमएस प्रणाली लागू गर्दा नेपालमा हुने विभिन्न खालका साइबर अपराधलाई नियन्त्रण गर्न सकिन्छ भने अवैध रूपमा नेपाल भित्रिएका मोबाइलबाट हुने विभिन्न खालका उच्छृंखल गतिविधि रोक्दै नेपालमा भित्रिएका मोबाइल सेटलाई करको दायरमा समेत ल्याउन सकिन्छ ।

मोबाइल फोनलाई नेपालमा लतका रूपमा नभएर जीवनोपयोगी कसरी बनाउन सकिएला ?

दिनेश : मोबाइल उपकरण कै कारण हाल विश्व मानवको खल्तीमा अटेको छ । यसको सही उपयोग गर्न सके समाजका हरेक पक्षको जानकारी हातबाटै लिन सकिन्छ । नेपालमा मोबाइलको उपयोग गलत र लतको रूपमा व्याख्या गर्ने काम भएको छ जस्तो मलाई लाग्दैन । यदि यसो भएको छ भने त्यसलाई नियन्त्रण गर्न हरेक पक्षले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्छ । गलत प्रयोग मानव चेतनाको कमीको कारण पनि भएको हुन सक्छ । सम्रगमा मोबाइलको उपयोग गर्न जाने सबैले लाभ लिन सकिन्छ ।

तपाइँ मोबाइल वितरक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ? देशभर मोबाइल व्यवसायीहरूको अवस्था कस्तो छ ?

दिनेश :  निकै राम्रो छ व्यवसायी साथीहरूको क्रियाशीलता र व्यवसाय । हामीले देशका विभिन्न स्थानमा मोबाइल सेट व्यवसाय सञ्चालन गरिरहेका साथीहरूलाई सक्दो तालिम, प्रशिक्षण, मोबाइल बिक्रीपछिको सेवाको निरन्तरताको प्राथमिकता दिन सल्लाहलगायतका काम गरिरहेका छौँ ।

अन्त्यमा,

दिनेश : नेपालमा मोबाइल बजारको अध्ययन गर्दा नेपालमै मोबाइल एसम्बल गरी बिक्री वितरण गर्न सकिने अवस्था सरकारले निर्माण गरिदिए नेपाली उपभोक्ताले अझै सस्तो मूल्यमा मोबाइल उपकरण उपभोग गर्न पाउने छन् । सरकारले मोबाइल एसम्बल सुरुवात गर्दै लाग्ने करको दायरामा उदार नीति ल्याउने हो भने आज नेपालमा मोबाइल आयात भइरहेको छ भने भोलि हामीले मोबाइल सेट नेपालबाट निर्यात गर्न सक्छौं । मोबाइलको उपयोग राम्रो कामका लागि गरौं र लाभ लिऔं । विश्वको बहुआयामिक विषयको अध्ययन गर्न सक्ने यो यन्त्रको सदुपयोग गर्न सके लाभ र दुरुपयोग भए अपराधको भागी बन्नुपर्ने हुँदा यतातर्फ ध्यान दिन र अनुरोध गर्दै आफ्ना भनाइ राख्ने मौका दिएकोमा रफतन्युजडटकम परिवारलाई धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर