सूर्यविनायकबाट रत्नपार्कसम्म द्रूत बस सञ्चालन गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रूत बस सञ्चालन गर्ने भएको छ।

काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रूत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए। पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उनले बताए। उनले भने, ‘आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ।’

मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रूत बस सेवा सुरु गर्न लागेको हो। तत्कालका लागि द्रूत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए।

द्रूत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रूत बस सेवा सञ्चालनको तयारी भइरहेको उनले बताए।

द्रूत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइसकेका छन्।

अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ। द्रूत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर