मणिपुरमा दुई महिलालाई निर्वस्त्र गरिएको घटनाको विरोध

काठमाडौं । भारतको मणिपुर राज्यमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । केही महिनादेखि जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो हिजो बुधबार सार्वजनिक भएको हो । यो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् ।

सांसद असरूद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले कसरी देश चलाइरहेका छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको बताए । कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्केले मणिपुरमा मानवीयता मरेको भन्दै प्रधानमन्त्री मोदीले कहिल्यै माफी पाउन नसक्ने बताए ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई उन्मुक्ति नदिने बताएका छन् । मोदीले घटनाबारे बताउँदै आफ्नो मन पीडाले भरिएको र देशकै अपमान भइरहेकोले दोषीलाई उन्मुक्ति नदिने उल्लेख गरे । विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएकामा हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलो पटक बोलेका हुन् ।

महिलामाथि यौन दुर्व्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको शिकार भएको बताएको छ । प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरिएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बीबीसीले उल्लेख छ ।

मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले दोषीलाई कडा कारबाही हुने बताउँदै यस घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको दाबी गरे । सर्वोच्च अदालतले पनि यस विषयमा सरकारको जवाफ मागेको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर