सुन तस्करमाथि कारवाही गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानविन गरी तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौँ राजस्व गुमेको भन्दै तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद गङ्गाकुमारी बेल्वासेले पालिकास्तरमा महिला विकास तथा उत्थान प्रवर्द्धन र महिला सशक्तीकरणका लागि महिला विकास शाखा स्थापना गर्न माग गर्नुभयो । सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानविन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गरे ।

सांसद जगप्रसाद शर्माले हालै सप्तकोशी नदीमा भएको ट्रक दुर्घटनामा पानीमा डुबेका व्यक्तिलाई स्थानीय चन्दर मुखिया नामका व्यक्तिले उद्धार गरी बचाएको र उनी लामो समयदेखि दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने कार्यमा संलग्न रहँदै आएको भन्दै राज्यले उनलाई सिपयुक्त क्षमता, प्रतिभा र साहसको कदर गर्दै आवश्यक प्रक्रिया पुर्‍याएर गोताखोरमा नियुक्त गर्न माग गरे ।
सांसद तारामान स्वाँरले सुदूरपश्चिमका सबैजसो जिल्ला र विशेषगरी कैलाली र कञ्चनपुर क्षेत्रमा लागूऔषधको तस्करी र ढुवानीकर्ताको बिगबिगी बढिरहेको र यसले अपराधजन्य घटनासमेत बढाइरहेको भन्दै यसलाई नियन्त्रण गरी कानुनी दारयामा ल्याउन सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद तुलसाकुमारी दाहालले भूमिहीन दलित र सुकुम्वासीलाई सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद मायाप्रसाद शर्माले सिंहदरबार परिसरको राष्ट्रिय अभिलेखालयको संरक्षण संवर्द्धनमा दक्ष जनशक्ति, भौतिक, प्राविधिकलगायतका सामग्रीको सुनिश्चित गर्न ध्यानाकर्षण गराए र
सांसद मृगेन्द्रकुमार सिंह यादवले ‘लम्पी स्किन’ महामारीको रोकथाम नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । सांसद विमला घिमिरेले दिनहुँ तस्करीका समाचार बढिरहेको र बुधबार मात्रै धेरै परिणामको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको भन्दै उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिइन् ।

साथै उहाँले काठमाडौं महानगरमा फोहोरको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न ध्यानाकर्षण गराएन् । सांसद शारदादेवी शर्माले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुमित्रा बिसीले डेंगु नियन्त्रणका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् । उनले महामारी फैलनुपूर्व आवश्यक सचेतना अभिवृद्धि र नियन्त्रणका सबैखाले तयारी गर्न पनि आग्रह गरिन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर