माग पूरा नभएसम्म बञ्चरेडाँडा फोहोरका लागि बन्द

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका बासिन्दाले काठमाडौं महानगरपालिकाले यसअघि गरेको सहमति कार्यान्वयन नगरेसम्म बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।

एक वर्षअघि काठमाडौं महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न दिएका छैनन् । माग पूरा नहुँदासम्म अवरोध कायमै रहने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । स्थानीय बासिन्दाको अवरोधकै कारण यसअघि पनि पटक–पटक काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । फेरि यस पटक स्थानीयले अवरोध गर्दा काठमाडौंमा फोहर थुप्रेसँगै दर्गन्ध फैलिन थालेको छ ।

यसैबीच ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीच बुधबार भएको छलफल विना निष्कर्ष टंगिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा स्थानीयवासी र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।

बैठकपछि ल्यान्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल विना निष्कर्ष सकिएको बताए । ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष धनराज बजगाइँले केही दिनपछि काठमाडौं महानगरपालिकालगायत १७ वटा पालिकासँग छलफल गर्ने तयारी रहेकाले त्यसपछि मात्रै फोहरमैला व्यवस्थापन कसरी गर्ने भन्ने निष्कर्षमा पुग्ने बताए ।

१५ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहर गएको वर्षको भदौ ७ गतेदेखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । अहिले काठमाडौं उपत्यकाका १८ वटा पालिकाबाट दैनिक तीन सय गाडी फोहर बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर