“के गर्ने कांग्रेसको गति, मति, दिशा र दशा यस्तै छ ”

काठमाडौं । घात–अन्तर्घात, गूट–उपगूटलाई करिब–करिब आफ्नो जीवनशैली बनाइसकेको नेपाली कांग्रेस पार्टीमा सङ्लो, सफा सर्वप्रिय दृश्य र आशा कहिले पनि पलाउन सकेन् । सँधैजसो एकअर्काको खुट्टा तान्न उद्दत रहने चरित्रबाट ग्रसित कांग्रेस पार्टीमा गूटगत राजनीति चालू केन्द्रीय समितिको बैठकमा पनि प्रदर्शन भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कांग्रेस संसदीय दलको नेता बदल्ने अथक् प्रयास गर्ने अभिव्यक्तिसँगै जारी अभियानलाई उनकै पार्टीकी एक केन्द्रीय सदस्यले खुला चुनौती दिएकी छन् । यसरी खुला चुनौती दिनेमा अरू कोही नभएर देउवा खेमाकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा प्रकट भएकी छन् ।

खतिवडाले बुधबार चालू केन्द्रीय समितिका बैठकमा आफ्नो मन्तव्य राख्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्न सकिने चेतावनी दिइन् । उनले महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन आग्रह पनि गरिन्। उनले भनिन्, ‘दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाइँहरू हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नु होला। तपाइँहरूले दायरा फराकिलो बनाउनु भएन भने जसरी तपाइँहरु अरू कसैको विकल्प खोज्छौं भन्दै हुनुहुन्छ। तपाइँहरूको विकल्प पनि हामीहरुले खोज्ने विकल्प नआओस्।’

नेता खतिवडाले सभापति संस्था भएकोले सभापतिबाहेक हामी मात्रै असल हौं भन्ने दावी हास्यापद भएको बताइन्। उनले सबै दोष सभापतिलाई लगाएर उन्मुक्ति नपाइने समेत उल्लेख गरिन्। खतिवडाको अभिव्यक्तिपछि एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने,“के गर्ने कांग्रेसको गति, मति, दिशा र दशा यस्तै छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर