मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण जाने भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल इटाली जान लागेको जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल सहभागी हुनेछ । मन्त्री शर्माका अनुसार कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय पनि बैठकले गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको हो ।

यसैगरी, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर