जथाभाबी पार्किङ शुल्क नलिन कामनपाको निर्देशन

काठमाडौं । पार्किङ गरेबापत जथाभाबी शुल्क लिने गरेपछि काठमाडौँ महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ । काठमाडौँ महानगरपालिकाभित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स) अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

महानगरपालिकाको आर्थिक ऐन २०८० का प्रावधानका विषयमा जानकारी दिँदै प्रमुख बालेन्द्र साह (बालेन)ले आवासीय वा व्यावसायिक भवनहरूले सेवा लिन आएका सेवाग्राहीसँग सवारीसाधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख साहहका अनुसार व्यावसायिक रूपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ । पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले कारबाही गर्ने जनाएको छ ।

महानगरले सार्वजनिक सडकहरूमा सवारीसाधन पार्किङ सञ्चालनमा रोक लगाइसकेको छ । महानगरले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएबापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गर्न पाउने व्यवस्था गरेको छ । निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनुपर्छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा निःशुल्क र सशुल्क उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरेको छ । पार्किङका लागि न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबार मार्गलगायतका भित्री शहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौंको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ ।

यस क्षेत्रमा सवारीसाधन पार्किङ गरेबापत शुल्क दुई २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रतिघण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसै गरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर