मलमास अर्थात् अधिकमास आज मंगलबारबाट सुरु : के गर्न हुन्छ, के गर्न हुँदैन

काठमाडौं । यस वर्ष परेको मलमास अर्थात् अधिकमास आज मंगलबारबाट सुरु भएको छ । मलमास साउन ३१ गतेसम्म चल्ने बताइएको छ । खासमा मलमास वा अधिकमासलाई पुरुषोत्तममास पनि भनेर भनिन्छ ।

के हो अधिकमास ?

चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।

हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ । दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके ।

वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ । सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन् । सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ । शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँसी वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ ।

चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ । चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ । यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ । सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ । सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो । अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ ।

मलमासमा गर्न हुने कार्य

यस अवधिभर केही धार्मिक कार्यहरु भने गर्न मिल्छ । जस्तै बालकहरुको अन्नप्राशन, न्वारन, भजन तथा सत्संगहरु र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ । यसका साथै यो समयमा आफूले दैनिक गर्ने पूजा लगायतका नित्य कर्महरु पनि गर्न मिल्छ ।

मलमासमा गर्न नहुने कार्य

हिन्दू धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधिभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, ब्रतबन्ध, सप्ताह, ग्रहपूजा जस्ता शुभकार्यहरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।

यो अवधिमा काठमाडौंको मच्छेनारायण मन्दिरमा एक महिना मेला लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर