अवैध मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १ महिनाको अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधिसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए।

‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ एसपी थापाले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।’ औषधिसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।

प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका छ मेडिकल पसलमा खनतलासी गरेको थियो। ती मेडिकल पसलका ४ जना सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन्।

२ जना मेडिकल सञ्चालक भने फरार रहेका प्रहरीले जनाएको छ। भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन्। पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट १२५ प्रकारका औषधि बरामद गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर