प्रतिनिधिसभामा राजनीति : रास्वपाकी सांसद सुमना श्रेष्ठको अभिव्यक्ति डिलिट गर्न माग

काठमाडौं । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने प्रक्रियालाई लिएर रास्वपा र राप्रपाले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक नै स्थगित भयो । बैठक स्थगित गर्नुअघि सभामुख देवराज घिमिरे र रास्वपा सांसद्‌बीच सवालजवाफ चलेको थियो ।
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि परेका विरोधका सूचना निर्णयार्थ पेश गरिसकेपछि सभामुखले मन्त्रीलाई विधेयक पेश गर्न समय दिएका थिए ।

सभामुखको निर्देशनपछि कानून मन्त्री धनराज गुरुङले विधेयक पेश गरे । बहुमतबाट विधेयश पेश गर्ने प्रस्ताव पारित भयो । त्यसपछि सभामुखले शिक्षा मन्त्री अशोक राईलाई अर्को विधेयक पेश गर्न समय दिए । मन्त्री रोष्ट्रममा पुगेपछि रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाए । सभामुखले प्रतिनिधिसभा नियमावली पढेर सांसदलाई बस्न आग्रह गरे । रास्वपा सांसदले मानेनन् ।
केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत् राजनीतिका नाममा गम्भीर प्रकारका अपराधलाई छुट दिन लागिएको भन्दै रास्वपा सांसदहरूले विरोध जनाएका हुन् ।

‘राजनीतिका नाममा कसलाई बचाउन ल्याएको विधेयक हो ? इँटाभट्टामा ज्युँदै मान्छे पोल्ने, एम्बुलेन्स थुतेर मान्छे थुतेर मार्नेलाई बचाउन अथवा भाला रोपेर मार्नेलाई लागि ल्याएको हो ? यो विधेयक ?’ रास्वपाकी सांसद सुमना श्रेष्ठले प्रश्न गरेकी थिइन् ।
त्यसपछि राप्रपा र रास्वपा सांसदहरूले विरोध कायम राखेपछि सभामुखले रोष्ट्रममा विधेयक पेश गर्न गएका मन्त्रीलाई फिर्ता बोलाएर बैठक आइतबार साढे ४ बजे १५ मिनेटका लागि स्थगित गरे ।

यसैबीच सांसद श्रेष्ठको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका छन्। सांसद श्रेष्ठले संसदीय मान्यताविपरीतको भाषा संसद्मा प्रयोग भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन उनले माग गरे । ‘सुमना श्रेष्ठज्यूले बहुमतको आधारमा पास गर्ने भए, गुण्डाशैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएका कारणले संसदीय मान्यताविपरितको भाषा भएको कारणले अविलम्ब डिलिट हुनुपर्छ भन्ने मेरो माग छ,’ सांसद बजगाईंले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर