कांग्रेस संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्छु : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन्। संसद परिसरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको पनि बताए।
उनले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताए।
उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए।
‘मैले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको हो। हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन’, थापाले भने, ‘प्रतिस्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै गरेको हो। यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन।’
‘मैले साथीहरुसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिबेला मौका आउला भनेर हेरिराख्ने गरेन भने चाहिँ अस्वाभाविक हो। त्यो मैले गर्नैपर्छ,’ उनले भने,‘यो सबैकुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो।संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्नेकुरा पार्टी सभापतिबाटै सिकेको हुँ। गिरिजाप्रसाद कोईरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ। सामान्य कुरा हो’, उनले भने ।