हुम्लामा एक ग्यास सिलिन्डरको छयालीस सय, डिजेल प्रति लिटर २७४ र पेट्रोल ३०५ रुपैयाँ !!

काठमाडौं । हुम्ला जिल्लाभर लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । व्यापारीहरुले पेट्रोलियम पदार्थको जथाभावी मूल्य राखी बिक्री गरेको उजुरी परेपछि सरोकारवाला पक्षको बैठक बसेर जिल्लाभर लागू हुने गरी इन्धन मूल्य निर्धारण गरिएको हो ।
निर्धारित मूल्यअनुसार बिहीबारबाट डिजेल प्रति लिटर २७४ रुपैयाँ पर्नेछ । व्यापारीले सुर्खेतमा खरिद गरेको डिजेलको प्रतिलिटर मूल्य १४९ रुपैयाँ परेकोमा त्यताबाट सलीसल्लासम्म ढुवानी प्रति लिटर १५ रुपैयाँ, तीन रुपैयाँ तुइन तार्ने खर्च, ६० रुपैयाँ सलीसल्लाबाट सिमकोटसम्म खच्चडको ढुवानी भाडा, २४ रुपैयाँ ग्यालेनमा ल्याउन इन्धन नोक्सान हुने खर्च, तीन रुपैयाँ अन्य खर्च र बीस रुपैयाँ प्रति लिटर फाइदासमेत जोडिएको छ ।

त्यसैगरी, पेट्रोल प्रति लिटर ३०५ रुपैयाँ निर्धारण गरिएको छ । ग्यास सिलिण्डरको प्रति सिलिण्डर ग्यास भरेको असारदेखि असोजसम्म चार हजार छ सय रुपैयाँ निर्धारण गरिएको छ । उल्लेखनीय कुरा यो छ कि हुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललगायत राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरू, व्यापारी, उद्योग वाणिज्य सङ्घसंस्थालगायतका प्रतिनिधिहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर