तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जको आयोजना गरिने, स्वदेशी तथा विदेशी ६ सय जना सहभागी हुने

भक्तपुर । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउन मुख्य लक्ष्यका साथ तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जको आयोजना हुने भएको छ ।

रफत सञ्चार क्लबमा साइकल कनेक्ट भक्तपुरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक सुमित बालाले भोलि शनिबार बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबार स्क्वायरबाट साइकल यात्रा सुरु हुने जानकारी दिए ।

विगत तीन वर्षदेखि सफलतापूर्वक निरन्तर रूपमा सञ्चालन हुँदै आएको कोरा भक्तपुर साइक्लिङ  च्यालेन्जमा यस वर्ष ६ सयभन्दा बढी साइकल यात्री सहभागी हुने उनले बताए । पत्रकार सम्मेलनमा संयोजक बालाले भने, “भक्तपुरका साइकलप्रेमीहरूको टिम साइकल कनेक्ट भक्तपुरको आयोजनामा साइक्लिङ  च्यालेन्जको आयोजना गर्नेै भएका हौँ, भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेका हौँ, यो कार्यक्रमले अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको साइकलबाटै यात्रा गर्नेर्छौँ, यो यात्राका क्रममा २१०० मिटर उचाइसम्म यात्रा हुनेछ ।”

साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएर सिद्धपोखरी, सल्लाघारी, थिमी बहाखा बजार, बोडे, नीलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, विरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने संयोजक बालाले बताए ।

भक्तपुर कोरा २०२३ नाम दिइएको, कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रुटमा यात्रा हुने जानकारी कोरा मास्टर सुनिल ख्याजुले बताए । च्यालेन्जअन्तर्गत हुने ५० किलोमिटर, ७५ किलोमिटर र १०० किलोमिटरको च्यालेन्जमा महिला ५० जनासहित करिब ६ सय जनाको सहभागिता रहने उनले बताए ।

भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगन्ज, वीरगन्ज, चितवन, नवलरासी, बुटवललगायत शहरबाट साइकल यात्री सहभागी हुने छन् भने अमेरिका, र कतिपय युरोपीय राष्ट्रका साइकल यात्रीहरुको समेत सहभागिता रहने बताइएको छ । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजुले समापन कार्यक्रममा ५०, ७५ र १०० किलोमिटरको च्यालेन्ज पूरा गर्ने सहभागीलाई मेडल प्रदान गर्ने बताइन् । च्यालेन्जलाई विभिन्न व्यावसायिक एवं सामाजिक संघसंस्थाले सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले साइकल यात्राले भक्तपुरको पर्यटनको विकासमा टेवा पु-याउने बताउँदै उनले कोरा भक्तपुर साइक्लिङ च्यालेन्जको आयोजनाबाट अन्य विभिन्न साइकल यात्राको प्रवर्धन गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर