स्वर्गीय सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सहानूभवी महानुभावहरूले बुधबार निधन भएकी सीता दाहालको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै शोक सन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान सीता दाहालको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रका नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्ती, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । साथै काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले पनि स्वर्गीय दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि बिहीबार र शुक्रबार बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर