साइबर आक्रमण तथा अपराधबाट जोगिन २४ बुँदे एड्भाइजरी जारी

काठमाडौं ।  सञ्चार मन्त्रालयले साइबर आक्रमण तथा अपराधहरुबाट जोगिन २४ बुँदे एड्भाइजरी जारी गरेको छ। मन्त्रालयले बिहीबार साइबर हाइजिन सम्बन्धी एड्भाइजरी २०२३ जारी गर्दै असम्बन्धित तथा अपरिचित व्यक्ति तथा संस्थाबाट आएका इमेल फिसिङ एवम् स्प्याम इमेल हुन सक्ने भन्दै त्यसको आधिकारिकता पुष्टि नभएसम्म नखोल्न आग्रह गरेको छ।

मन्त्रालयले कुनै पनि सूचना प्रविधि सम्बन्धी उपकरणहरु मर्मतका लागि पठाउँदा सूचना चुहावट हुन सक्ने भएकाले डेटा पहुँच नहुने गरि (बिना हार्ड डिस्क, अन्य स्टोरेज, मेमोरी) मर्मतका लागि पठाउन अनुरोध गरेको छ। यस्तै, मन्त्रालयले वायरलेस नेटवर्कलाई आन्तरिक नेटवर्कबाट अलग गर्ने व्यवस्था मिलाउन भनेको छ। संस्थाका एप्लिकेसनहरु ल्यानबाट मात्र पहुँचयोग्य बनाउने र वाइफाइको प्रयोगलाई निरुत्साहित गर्न तथा यसको प्रयोग इन्टरनेट उपयोगका लागि मात्र गर्न आग्रह गरिएको छ।

आफ्नो निकायमा प्रयोग भइरहेका सूचना प्रविधि प्रणाली, इमेललगायतका अन्य प्रणालीहरुमा सम्भव भएसम्म मल्टि-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ। पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी सुरक्षित पासवर्ड राख्न भनिएको छ। मन्त्रालयले प्रयोगमा रहेका एन्टि-भाइस, डेटा बेस, एप्लिकेसन लाइब्रेरी, अपरेटिङ सिस्टम, नेटवर्क डिभाइसेस, सेक्युरिटी डिभाइसेस, सर्भर आदिलाई नियमित रुपमा अद्यावधिक गर्न सुझाएको छ।

त्यसैगरी, सरकारी निकायहरुले विकास गरेका वा गर्न लगाइएका सूचना प्रविधि प्रणालीको सोर्स कोड सुरक्षित राखेर अद्यावधिक गर्न आग्रह गरिएको छ। मन्त्रालयले जेन्युन लाइसेन्स भएक हार्डवेयर तथा सफ्टवेयर मात्रै प्रयोग गर्न सुझाव दिएको छ। अहिले नेपालका अधिकांश प्रयोगकर्ता तथा संस्थाहरुले क्र्याक फाइल प्रयोग गरी विभिन्न सफ्टवेयर चलाउने प्रचलन अत्यधिक छ। कार्यालयको इमेल ठेगाना व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर