अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार

काठमाडौं । ‘आदिपुरुष’ विवादले सतर्क भएको भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । आदिपुरुषलाई जस्तै विवाद हुन नदिन सेन्सर बोर्डले ‘ओह माइ गड २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुनः सेन्सर गर्ने भएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार सेन्सर बोर्डका सदस्यले फिल्ममा समावेश दृश्य र संवादका कारण भविष्यमा कुनै विवाद नआओस् भनेर सुनिश्चित गर्न खोजेका छन् । भारतीय चलचित्र जाँच समितिको परिमार्जन समितिले पुनः एकपटक फिल्मलाई जाँच गर्ने निर्णय गरेको हो ।

फिल्ममा समावेश कुन संवाद र दृश्यलाई लिएर सेन्सर बोर्डले आपत्ति जनायो भन्ने कुराको यकिन छैन । यद्यपि सेन्सर बोर्डअन्तर्गतको रिभिजन कमिटीले आगामी अगस्ट ११ मा फिल्मलाई प्रदर्शन अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ ।

इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार भारतीय सेन्सर बोर्ड आदिपुरुषमा भएको गल्तीलाई दोहोर्‍याउने पक्षमा छैन । यसकारण पनि उसले पुनः एकपटक फिल्मका दृश्य र संवादलाई सूक्ष्म रुपले हेर्न चाहेको हो । स्रोतले इन्डिया टुडेलाई बताएअनुसार ‘ओ माइ गड २’ मा समावेश संवाद र दृश्यको सम्भावित विवादबाट बच्न बोर्डले ‘पूर्वविधिका उपाय’ अपनाइरहेको छ ।

‘यदि भगवान र धर्मसँग सम्बन्धित कुनै दृश्य र संवाद छन् भने समीक्षा र संसोधनका लागि रिभिजन कमिटीमा पठाइने छ,’ स्रोतले भन्यो । गत महिना रिलिज भएको ‘आदिपुरुष’का केही संवादलाई लिएर भारतभर चर्को आलोचना भएको थियो । विवाद चर्किएपछि उक्त फिल्मको प्रदर्शन नेपालमा समेत रोकिएको थियो ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर