प्रधानमन्त्रीकी पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उनको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

नेकपा (माओवादी केन्द्र)ले  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

बुधबार पार्टीका महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्नुहुँदै सीता दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाउनुभएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका लागि विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’’

विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय उहाँ पार्किन्सनलगायत रोगबाट पीडित हुनुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय हुनुहुन्छ ।

कमरेड सीता दाहालले देश र जनताको मुक्ति एवम् परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

साथै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल गरिएको शोक वक्तव्यमा लेखिएको छ ।

स्वर्गीय दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

सीता दाहालको राजनीतिक यात्रा

 सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो । सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

सीता दाहालका बारेमा पार्टीका महासचिव देव गुरुङ भन्नुहुन्छ, ‘‘सीता दहालले जनयुद्धको समयमा  आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोगलगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।’’

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आउनुभएको जानकारी पनि महासचिव गुरुङले दिनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर