आरोहीको शव सम्बन्धित कम्पनीले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अबदेखि आरोहण कम्पनीले नै फिर्ता ल्याउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको हो ।

पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागू गरिएको बताए ।

आरोहण कम्पनीले विमागमा सफल आरोहणको दावी गर्दै प्रमाणपत्र लिन आउने समयमा उक्त कम्पनीमार्फत आरोहणमा गएका मृतक आरोहीको शव उद्धार गर्ने तथा हराएका आरोहीको शव खोजीका लागि प्रतिबद्धतापत्रसहित पेस गर्नुपर्ने उनले बताए ।

सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा दुई जना नेपाली भरियाले ज्यान गुमाएका छन् भने पाँच जना बेपत्ता छन् । बेपत्ता पाँच जना भरिया शेर्पामध्ये तीन जना खुम्बु आइसफल क्षेत्रमा र दुई साउथ समिटबाट बेपत्ता भएका हुन् ।

त्यसैगरी सगरमाथा आरोहणका क्रममा अमेरिका, मलेसिया, मालडोभा, चीन, भारत, अस्ट्रेलिया र क्यानडाका एक÷एक जना आरोहीले गुमाएका छन् । सगरमाथा आरोहणकै क्रममा मलेसिया, सिङ्गापुर, हङ्गेरीका एक–एक जना आरोही बेपत्ता छन् ।

त्यस्तै सगरमाथाबाहेक अन्नपूर्ण र कञ्चनजङ्घा हिमालमा एक–एक जना विदेशी नागरिकको मृत्यु भएको छ । कञ्चनजङ्घामा ज्यान गुमाउने जर्मनीका नागरिक हुन् भने अन्नपूर्णमा आयरल्यान्डका नागरिकले ज्यान गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर