मिटरब्याजीलाई कारबाही गर्ने विधेयक रोक्न संसदमा प्रतिपक्षी दलको अवरोध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने विधेयक रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रनिकट युवा महिलाको भेलामा प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मैले एउटा पुस्तक विमोचनको सन्दर्भमा भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीलाई कारबाही गर्ने ऐन आज (बुधबार) संसदबाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन। त्यसैले यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’’

प्रधानमन्त्री प्रचण्डले आफूहरू सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा रहेको प्रष्ट पार्दै भने, “२०८४ मा माओवादी धारा शक्तिशाली बन्नेछ । हामी एउटा सुशासनको लडाइँमा छौँ, भ्रष्टाचारविरुद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ। विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ।’’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको पनि उल्लेख गरे । उनले भने, “१० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्ने ‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर