संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति

काठमाडौं । शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति भएको छ । सिंहदरबारमा मंगलबार बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुङ्ग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए । मन्त्री गुरुङले भने, ‘शीर्ष नेताहरुको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरुको नेतृत्व जुन खाली भएर बसेको छ, त्यसमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको छ । राजनीतिमा देखिएका विकृति, विसङ्गति, कमी कमजोरीको समाधान गर्दै लैजाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर