पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहन्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताएका छन्। धनगढी विमानस्थलमा मंगलबारपत्रकारहरूसँग कुरा गर्दै उनले हालको सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप लगाए।

यस्तै, अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको बताए। ‘यो बजेटलाई कसले स्वागत गरेको देख्नुभयो न साना व्यवसायीको पक्षमा छ, न लघुुवित्त पीडितको पक्षमा छ’, उनले भने, ‘यसमा त्रुटी छ। सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर सच्याउनुपर्छ। केही समय हामी हेर्छौं।’

यस्तै, सत्ता फेरबदलको चर्चा चलिरहेका बेला आफू र आफ्नो पार्टी भने त्यो दौडमा नरहेको बताए। लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरे।

“सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौँ। अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौँ। सत्ता फेरबदलबारे सुनेपनि म न कुनै बैठकमा गएको छु, न कुनै नै चासो राखेको छु। कुनै पनि क्रियाकलापमा सहभागी छैनौं ”, उनले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर