कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव

काठमाडौं । सत्ता गठबन्धन बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने प्रस्ताव लैजाने सहमति गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने सहमति गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा सहमति भएको हो। बैठकपछि नेता पाण्डेले भने, ‘‘कोशी प्रदेशको सरकार गठनको कुरा छ । त्यसको लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरुको तर्फबाट पनि के सुझाव दिने भन्दा नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएका छौँ । अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिने गरी बाँकी सिट संख्या पनि उहाँहरुलाई नै पुर्‍याउने जिम्मेवारी दिएका छौं ।’’

बैठकमा कोशी प्रदेश सरकारमा राप्रपालाई सँगै लिएर अगाडि बढ्ने विषयमासमेत छलफल भएको बुझिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि केन्द्रकै गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउने प्रयास गरिरहेको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका थिए ।

यसैबीच उपाध्यक्ष पाण्डेले जनमत पार्टीलाई संघीय सरकारमा ल्याउने सहमति भएको जानकारी दिए । उनले जनमतले दुई मन्त्रालयको दावी गरेअनुसार एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर