एकदिवसीय विश्वकप छनोट : यूएईले चार विकेट गुमायो

काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा अहिले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गरिरहेको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर नेपालले फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको यूएईले ३६ ओभरमा चार विकेटको क्षतिमा एक सय ३७ रन बनाएको छ । यूएईविरुद्ध आज नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेका तीन खेलाडीलाई परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद, कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई मैदानमा उतारेको छ ।

सुपरसिक्सबाट बाहिरिएको नेपाल र यूएईबीचको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको अर्को प्लेअफ खेलमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेको थियो । नेपाल र यूएईबीचको पराजित टोलीले अमेरिकासँग नवौँ र दसौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट स्पर्धामा युएई नेपालका लागि परिचित प्रतिद्वन्द्वी हो । नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले आठ खेल र यूएईले ६ खेल जितेको छ । यी दुई टोलीबीच अन्तिम खेल गत वैशाखमा एसीसी प्रिमियर कपको फाइनलमा भएको थियो । जुन खेलमा नेपाल सात विकेटले पराजित भएको थियो ।

विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डढ्स र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । नेपाल चौथो र अमेरिका पाँचौँ बन्दै प्लेअफमा पुगेको हो । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । यस समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौँ बन्दै प्लेअफमा पुगेको हो ।

नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो । यस्तै सुपर सिक्स पुगेका प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

यूएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जिसी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर